काठमाडौं । एसीसी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालले मंगलबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ। यद्यपि नेपालको सेमिफाइनल यात्रा बिहान हुने भारत ए र यूएईबीचको खेलको नतिजामा समेत निर्भर रहनेछ।
नेपालले पहिलो खेलमा भारत एसँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो। उक्त खेलमा नेपाली टोली २६ रनमै समेटिएको थियो। दोस्रो खेलमा भने यूएईलाई पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।
यता पाकिस्तान शाहीन्स भने प्रतियोगितामा उत्कृष्ट लयमा छ। उसले भारत ए र यूएई दुवैलाई पराजित गर्दै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ। यस्तो अवस्थामा पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न सहज हुने छैन।
मंगलबार बिहान ११ः४५ बजे भारत ए र यूएईबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि दिउँसो ३ः४५ बजे नेपालले पाकिस्तान शाहीन्सको सामना गर्नेछ।
यूएईले भारत एलाई पराजित गरेमा नेपालको सेमिफाइनल समीकरण केही सहज हुनेछ। यस्तो अवस्थामा पाकिस्तान र नेपाल दुवैको समान चार अंक हुनेछ भने भारत ए र यूएईको दुई-दुई अंक हुनेछ। नेपालले पाकिस्तानलाई हराएमा दुवै टोली सेमिफाइनलमा पुग्नेछन् र नेट रनरेटको हिसाब गर्नुपर्ने छैन।
तर भारत ए विजयी भएमा उसको पनि चार अंक पुग्नेछ। त्यसपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो नेट रनरेटका आधारमा लाग्नेछ। हाल भारत ए २.५८० नेट रनरेटसहित अगाडि छ। पाकिस्तान ए को नेट रनरेट १.०९० छ भने नेपालको माइनस २.४६१ रहेको छ। त्यसैले पाकिस्तानलाई हराए पनि नेपालले ठूलो अन्तरको जित निकाल्नुपर्ने अवस्था आउन सक्छ।
भारत एले यूएईलाई हराएको अवस्थामा नेपाल पाकिस्तानसँग पराजित भएमा भारत ए र पाकिस्तान ए सेमिफाइनल पुग्नेछन्। त्यससँगै नेपालको प्रतियोगितात्मक यात्रा समाप्त हुनेछ।
यता यूएईले भारत एलाई हराए पनि नेपाल पाकिस्तानसँग पराजित भएमा पाकिस्तान समूह विजेता बन्नेछ। दोस्रो स्थानका लागि नेपाल, भारत ए र यूएईबीच प्रतिस्पर्धा हुनेछ। हालको नेट रनरेटका आधारमा भारत ए अगाडि रहेकाले नेपाललाई सेमिफाइनलको सम्भावना बलियो बनाउन पाकिस्तानविरुद्ध जित्नैपर्ने देखिन्छ।
यदि भारत ए र यूएईबीचको खेल वर्षाका कारण रद्द भएमा भारत एले एक अंक पाउँदै तीन अंक पुर्याउनेछ। यस्तो अवस्थामा पनि पाकिस्तानलाई हराएर चार अंक जोड्नु नेपालका लागि सेमिफाइनल प्रवेशको बलियो आधार बन्नेछ।