काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको घोप्टेभिरमा जोखिमपूर्ण पहिरो हटाउन दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम सुरु गरिएको छ ।
शनिबार दिउँसोदेखि सवारीसाधन रोकेर डाँडाको जोखिमपूर्ण भाग कटान गर्न थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गातर्फबाट बाटो निर्माण गरी घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्याइएको थियो । उक्त एक्साभेटरमार्फत आइतबारदेखि झर्न सक्ने जोखिममा रहेका ढिस्को काट्ने काम सुरु गरिएको हो ।
निर्माण कम्पनी शर्मा जेडआईसिजी जेभीका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो स्थानमा एक्साभेटर पुर्याएर डाँडो कटान गर्न थालिएको छ । यसका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन रोकेर काम भइरहेको छ । डाँडाको माथिल्लो भागबाट क्रमशः तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनले बताए ।
डाँडाको अवस्था हेरेर थप उपकरण लैजान सकिने देखिए सोमबारसम्म अर्को एक्साभेटर थप्ने योजना रहेको नेपालले जानकारी दिए । सवारी आवागमन बन्द हुने समयलाई उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फको भित्तो काटेर सडक विस्तारको कामसमेत अघि बढाइएको छ । उनका अनुसार उक्त स्थानमा १५० मिटर लामो सडकखण्ड करिब तीन मिटर चौडा बनाउनुपर्नेछ ।
यसैगरी, चुम्लिङटार र कुरिनटारको बीचमा पर्ने डाहाकी खोलामा पनि सडक चौडा गर्ने काम सुरु गरिएको छ । उक्त स्थानमा १०० मिटर लम्बाइमा सडकलाई दुई मिटर चौडा बनाउनुपर्नेछ । दुवै स्थानमा दुईवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो कटान भइरहेको नेपालले बताए ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित सवारी आवागमन रोकेर निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए ।
सरकारी निकायबाट आवश्यक सहजीकरण गरी घोप्टेभिरको जोखिमपूर्ण भाग हटाउने काम अघि बढाइएको उनको भनाइ छ । सवारी आवागमन बन्द हुने समयमा सडक विस्तार गर्नुपर्ने अन्य स्थानमा समेत काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले जानकारी दिए ।
झन्डै एक महिनादेखि घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको यातायात प्रभावित हुँदै आएको छ । पटकपटक पहिरो खस्ने र ढुङ्गा झर्ने समस्याका कारण सवारी आवागमन अवरुद्ध हुने गरेको छ । पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भइसकेको छ ।
घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौंंतर्फ पर्दछ । राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्गका रूपमा रहेको यस सडकमा दैनिक एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।