काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको औपचारिक राजकीय भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध ऐतिहासिक र विशेष रहेको उल्लेख गरिएको छ । यस भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्ने रास्वपाको अपेक्षा छ ।
प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।
दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तामा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको जनाइएको छ ।
रास्वपाका अनुसार भ्रमणका विषयमा प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल र जानकारी गराएका थिए । सो अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् ।
