सोलुखुम्बु– उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्र घुम्न आएका पर्यटक फर्किने क्रम तीव्र भएको छ। हवाई मार्गबाट खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो सात दिनको तथ्याङ्कअनुसार हवाई मार्गबाट एक हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन् भने ५२९ जना भित्रिएका छन्। प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी छ। यसले शरद् ऋतुको मुख्य पर्यटन सिजन क्रमशः सकिँदै गएको सङ्केत गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार उक्त अवधिमा ८७७ विदेशी र ३०३ स्वदेशी पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन्। यसैगरी, ३७४ विदेशी र १५५ स्वदेशी पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेका छन्।
बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन्। त्यस्तै, स्वदेशी पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष रहेका छन्। खुम्बु प्रवेश गर्ने विदेशी पर्यटकमा १०२ महिला र २७२ पुरुष छन् भने स्वदेशी पर्यटकमा ५४ महिला र १०१ पुरुष छन्।
खुम्बु क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताए। उनका अनुसार नाम्चे क्षेत्रमा रातिको तापक्रम माइनसमा झर्न थालेको छ। राति र बिहान अत्यधिक चिसो हुँदा पानीसमेत जम्न थालेको उनले जानकारी दिए।
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्छ। मनसुन सकिएपछि मौसम सफा हुने, हिमाल स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस समयमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य हुने गरेको छ।
तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने, राति अत्यधिक चिसो हुने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्किने क्रम तीव्र हुने गरेको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढ्दा पर्यटकको बसाइ अवधि र गतिविधिमा असर पर्ने बताए। सिजनको अन्तिम चरणमा पर्यटकले मौसम, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर आफ्नो यात्रा तय गर्ने उनको भनाइ छ।
खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुने र पर्यटकको सङ्ख्या घट्दै जाने बताए।
लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको चाप र मौसमी अवस्थाले हवाई आवागमनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। पर्यटकको चाप बढी हुँदा उडान सङ्ख्या बढ्ने र सिजन कमजोर हुँदै जाँदा बाहिरिने पर्यटकको सङ्ख्या बढ्ने उनले बताए। मौसमको अवस्थाले लुक्ला विमानस्थलबाट हुने उडानसमेत प्रभावित हुने उनको भनाइ छ।
लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले पनि चिसो बढेसँगै पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसायमा परिवर्तन देखिन थालेको बताए। मुख्य पर्यटन सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा चहलपहल घट्दै जाने उनको अनुभव छ। उच्च क्षेत्रमा चिसो बढेपछि पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्कने प्रवृत्ति देखिने उनले बताए।
प्रहरीको विवरणअनुसार पछिल्लो सात दिनमा खुम्बु क्षेत्रमा ६९ वटा विमान र २८ वटा हेलिकप्टर उडान भएका छन्। पर्यटकको आवागमनका लागि हवाई सेवा प्रमुख माध्यम रहेकाले मौसम र पर्यटन सिजनले उडान गतिविधिमा प्रभाव पार्ने गरेको छ।
सगरमाथा क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्य हो। सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि अन्तरराष्ट्रिय पर्यटकमाझ लोकप्रिय छन्।
पर्यटनविद् आङछिरिङ शेर्पाका अनुसार खुम्बु क्षेत्रमा वसन्त र शरद् गरी दुई मुख्य पर्यटन सिजनमा पर्यटकको आगमन बढी हुने गर्छ। वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्म रहने मानिन्छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी रहने भए पनि सिजन सकिँदै जाँदा तापक्रम घट्ने र मौसममा परिवर्तन आउने भएकाले पर्यटन गतिविधि प्रभावित हुने बताए।
प्रहरीको पछिल्लो तथ्याङ्कमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या उल्लेख्य बढी देखिनुले खुम्बु क्षेत्रमा शरद् पर्यटन सिजन अन्तिम चरणमा पुगेको स्पष्ट सङ्केत गरेको छ। आगामी दिनमा चिसो थप बढ्ने र मौसम प्रतिकूल हुन सक्ने भएकाले पर्यटकको आवागमनमा थप परिवर्तन आउन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ। रासस