वीरगञ्ज । वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चार स्थानीय तहलाई समेटेर नगर बस सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । महानगरपालिकाले मङ्सिरभित्रै सेवा सुरु गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमनलाई सहज, सुलभ र व्यवस्थित बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
नगर बस सेवालाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्न चारवटै पालिकाको सहभागितामा एक करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय गरिएको छ ।
उक्त कोषमा वीरगञ्ज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ योगदान गर्नेछन् ।
नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ ।
त्यस्तै, नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले आगामी मङ्सिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ ।
महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जितपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशङ्करप्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन् ।