काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल दक्षिण र मध्य एसियाबीचको महत्त्वपूर्ण सभ्यतागत सेतुका रूपमा रहेको बताएका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित पहिलो एससीओ सभ्यतागत संवादमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने क्रममा उनले भारत र चीनबीच अवस्थित नेपालले गंगाको मैदान र तिब्बती पठारलाई जोड्दै व्यापार, तीर्थयात्रा, ज्ञान र संस्कृतिको आदानप्रदानमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताए ।
नेपाल शताब्दीयौँदेखि विभिन्न सभ्यता, भाषा, धर्म र संस्कृतिबीचको अन्तरसम्बन्धको महत्त्वपूर्ण हिस्सा रहँदै आएको उल्लेख गर्दै पौडेलले १४२ जातजाति तथा समुदाय र १२४ मातृभाषा नेपालको बहुसांस्कृतिक पहिचान भएको बताए । खस, किरात, मिथिला र नेवार सभ्यतादेखि आदिवासी जनजातिका मौलिक परम्परासम्मको विविधता नेपालको सांस्कृतिक सम्पदा भएको उनको भनाइ थियो । हिन्दु, बौद्ध र किरातलगायतका आध्यात्मिक परम्परा शताब्दीयौँदेखि सहअस्तित्वमा रहनुले नेपालको सांस्कृतिक विशिष्टता झल्काउने उनले बताए ।
नेपाललाई गौतम बुद्धको जन्मभूमिका रूपमा प्रस्तुत गर्दै उनले लुम्बिनीबाट फैलिएको शान्ति, करुणा, अहिंसा र मध्यम मार्गको सन्देशले एसियाली सभ्यतामा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । त्यस्तै, मिथिलालाई माता सीताको जन्मभूमि र राजा जनकको दार्शनिक विरासतसँग जोडिएको प्राचीन ज्ञान तथा चिन्तनको केन्द्रका रूपमा चित्रण गरे । गण्डकी क्षेत्रसँग परम्परागत रूपमा जोडिने महर्षि वेदव्यासको भारतीय उपमहाद्वीपको बौद्धिक तथा आध्यात्मिक चेतनामा महत्त्वपूर्ण स्थान रहेको पनि उनले बताए ।
नेपाली कलाकार तथा वास्तुविद् अरनिकोले नेपालको कला र शिल्प परम्परालाई तिब्बत, चीन हुँदै मंगोलियासम्म विस्तार गरेको उल्लेख गर्दै पौडेलले नेवार कला र वास्तुकलाले ती क्षेत्रको सिर्जनात्मक परम्परामा दीर्घकालीन प्रभाव पारेको बताए । यी ऐतिहासिक सम्बन्धले एसियाली सभ्यताहरू निरन्तरको सम्पर्क र सांस्कृतिक आदानप्रदानबाट विकसित भएको देखाउने उनको भनाइ थियो ।
नेपालमा विभिन्न धार्मिक परम्पराबीचको सहअस्तित्वबारे चर्चा गर्दै उनले गुरु नानक देवले पशुपतिनाथको दर्शन गरेको प्रसंग र त्यहाँस्थित ऐतिहासिक भष्मेश्वर गुरु नानक मठमा गुरु ग्रन्थ साहिबको हस्तलिखित प्रति सुरक्षित रहेको उल्लेख गरे । स्वयम्भूनाथ, बौद्धनाथ र मुक्तिनाथलाई पनि धार्मिक आस्था, तीर्थयात्रा र सांस्कृतिक आदानप्रदानका महत्त्वपूर्ण केन्द्रका रूपमा प्रस्तुत गरे ।
पौडेलले नेपालको योगदान धर्म र कलामा मात्र सीमित नभई ज्ञान, दर्शन तथा साहित्यको संरक्षणमा समेत रहेको बताए । नालन्दा र तक्षशिलाजस्ता प्राचीन बौद्ध ज्ञानकेन्द्रहरू ध्वस्त पारिएका कठिन समयमा शान्तरक्षित र पद्मसम्भवलगायतका बौद्ध विद्वान्ले नेपालमा आश्रय लिएको तथा महत्त्वपूर्ण ग्रन्थ र पाण्डुलिपि सुरक्षित राखिएको ऐतिहासिक परम्परा रहेको उनले उल्लेख गरे । काठमाडौं उपत्यकाका फर्पिङसँग जोडिएको पद्मसम्भवको ज्ञान प्राप्तिको मान्यता र हिमाली क्षेत्रमा बुद्धका शिक्षाको विस्तारमा उनको योगदानबारे पनि उनले चर्चा गरे ।
काठमाडौं, पाटन र भक्तपुरका ऐतिहासिक सहरका मन्दिर, स्तूप, गुम्बा, विहार, काष्ठकला, धातुकला र चित्रकलालाई नेपाली पुर्खाको सिर्जनात्मक क्षमताका उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले मुस्ताङ र डोल्पाले पनि प्राचीन हिमाली सभ्यता, व्यापारिक मार्ग र सांस्कृतिक सम्बन्धका प्रमाण सुरक्षित राखेको बताए ।
सभ्यताको संरक्षणलाई साझा जिम्मेवारीका रूपमा व्याख्या गर्दै पौडेलले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र परम्परागत ज्ञानको क्षयीकरणले सांस्कृतिक सम्पदामाथि चुनौती थपिरहेको बताए । यस्ता सम्पदाको संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । नयाँ पुस्तालाई ऐतिहासिक स्मारक र पाण्डुलिपिसँगै तिनमा निहित मूल्य, दर्शन र जीवनदृष्टिसँग पनि जोड्नुपर्ने उनले बताए ।
एससीओको संवाद साझेदारका रूपमा नेपालले सभ्यतागत संवादमार्फत पारस्परिक विश्वास, समझदारी र जनस्तरको सम्बन्ध थप सुदृढ हुने विश्वास लिएको पौडेलले बताए । विभिन्न सभ्यताबीचको भेटघाट, सिकाइ र सहकार्यबाट मानव सभ्यता समृद्ध हुने सन्देश नेपालको सांस्कृतिक तथा दार्शनिक विरासतले दिएको उनको भनाइ थियो ।