भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने प्रयासविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका छन् ।
शनिबार भक्तपुरमा पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले पछिल्लो राजनीतिक परिस्थितिले देशलाई पुनः दुर्घटनातर्फ लैजाने षड्यन्त्रको संकेत गरेको दाबी गरे । संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध कडा प्रतिवाद गर्नुपर्ने समय आएको भन्दै उनले राष्ट्रिय जागरण अभियानलाई त्यसको तयारीका रूपमा अघि बढाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
हजारौँ शहीद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गता भएका व्यक्ति र लाखौँ जनताको संघर्षबाट प्राप्त उपलब्धिमाथि चुनौती देखिएको उनको भनाइ थियो । यस्तो अवस्थामा शान्ति सम्झौताको मर्म र संविधानको भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने उनले बताए ।
दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र जनताका अधिकारको रक्षाका लागि नयाँ संकल्प र प्रतिबद्धतासहित जनतामाझ जानुपर्ने बताए । राष्ट्रिय जागरण अभियानमार्फत शान्ति सम्झौताको ऐतिहासिकता, संविधानको महत्त्व र संघर्षबाट प्राप्त उपलब्धिबारे घरघर र टोलटोलमा पुगेर जनतालाई सचेत गराउन उनले कार्यकर्तालाई निर्देशन दिए ।
उनले देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउन आन्दोलनमा उत्रिनुपर्ने पनि बताए ।