काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन् २०२७ मा इङ्ल्यान्ड भ्रमण गर्ने भएको छ । भ्रमणका क्रममा नेपालले स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग गरी कुल ६ खेल खेल्नेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भ्रमणको खेलतालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेल्दै भ्रमणको सुरुआत गर्नेछ । त्यसपछि जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक क्रिकेट मैदान लड्र्समा बङ्गलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।
नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ । त्यसपछि जुन ९, ११ र १२ मा आयरल्यान्डसँगै तीन टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने क्यानले जनाएको छ ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को सहकार्यमा हुन लागेको यो भ्रमणलाई नेपाल र एमसीसीबीच विकसित हुँदै गएको घनिष्ठ सम्बन्धको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । दुवै संस्थाले नेपालमा क्रिकेटको विकास, युवा खेलाडीलाई अवसर प्रदान तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तारका लागि सहकार्य गर्दै आएका छन् ।
एमसीसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सकारात्मक सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ । क्रिकेटमा सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा कार्यक्रम सञ्चालन भइरहेका छन् । एमसीसीका अनुसार गत वर्ष यी परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।
यसैगरी, एमसीसीले गत वर्ष नेपाल प्रिमियर लिग (एनपीएल)सँगको सहकार्यमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ पनि सुरु गरेको थियो ।
पत्रकार सम्मेलनमा एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाल र क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बलियो बनेको बताए । उनले नेपालीहरूमा क्रिकेटप्रतिको असाधारण लगाव रहेको उल्लेख गर्दै खेलले मानिसलाई एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
क्यानका सचिव पारस खड्काले लड्र्समा पुनः खेल्ने अवसर प्राप्त हुनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताए । एमसीसीसँगको निरन्तर साझेदारीले नेपालको क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उनले बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट आयरल्यान्ड, क्रिकेट स्कटल्यान्ड तथा इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)लाई सहयोगका लागि धन्यवाद दिए ।
त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पूर्ण सदस्य राष्ट्र बङ्गलादेशसँग लड्र्समा खेल्न पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि हुने बताए । उनले यस अवसरका लागि एमसीसी, ईसीबी, बङ्गलादेश क्रिकेट बोर्ड, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति आभार व्यक्त गरे ।