काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी। यसलाई प्रबोधिनी एकादशी, देवोत्थान एकादशी तथा ठूली एकादशीका नामले पनि चिनिन्छ। यस अवसरमा घरघरमा रोपिएको तुलसीको विधिपूर्वक विवाह गरी भगवान् विष्णुको विशेष पूजा आराधना गर्ने धार्मिक परम्परा छ।
हरिबोधनी एकादशीका दिन तुलसीको मठलाई गोबर र माटोले लिपपोत गरी विभिन्न रङका वस्त्र, फूलमाला तथा अन्य सामग्रीले सिँगारिन्छ। त्यसपछि भगवान् विष्णुको प्रतीकका रूपमा लिइने शालिग्राम वा पीपलसँग तुलसीको विवाह गराउने चलन छ। यस दिन व्रतालुले फलाहारका रूपमा पिँडालु, सक्खरखण्डलगायतका खानेकुरा ग्रहण गर्ने गर्छन्।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा योगनिद्रामा जानुभएका भगवान् विष्णु चार महिनापछि आजकै दिन जागा हुनुहुन्छ। भगवान् विष्णु योगनिद्राबाट जाग्ने दिन भएकाले यसलाई देवोत्थान एकादशी पनि भनिएको हो।
भगवान् विष्णु शयनमा रहनुभएको चतुर्मास अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेशलगायतका माङ्गलिक कार्य नगर्ने परम्परा छ। हरिबोधनी एकादशीपछि भने यस्ता शुभकार्य पुनः सुरु गरिन्छन्। त्यसैले हिन्दू धर्मावलम्बीका लागि यस एकादशीलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले विशेष महत्त्वका साथ लिने गरिन्छ।
चार महिनाअघि हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गराउने परम्परा छ। तुलसीलाई भगवान् विष्णुको अत्यन्त प्रिय वनस्पतिका रूपमा पूजा गरिन्छ। भोलिपल्ट द्वादशीका दिन तुलसीको पुनः पूजा गरी चतुर्मास अवधिभर विष्णुको प्रतीकका रूपमा गरिएको पूजाको समापन गरिन्छ।
यस दिन दिवङ्गत पितृको सम्झनामा नदी तथा खोलामा फूल तार्ने प्रचलनसमेत रहेको छ। पितृको नाममा मन्त्र उच्चारण गर्दै व्रत तथा पूजाबाट प्राप्त पुण्य समर्पण गर्ने धार्मिक विश्वास छ। यसो गर्दा पितृ प्रसन्न भई परिवारमा सुख, शान्ति र समृद्धिको आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको छ।
पूजा तथा व्रत विधि
हरिबोधनी एकादशीका दिन बिहानै उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने गरिन्छ। त्यसपछि भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीपत्र र दीप अर्पण गरी पूजा गरिन्छ। यस अवसरमा ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्ने परम्परा छ।
दिनभर उपवास बस्ने, सम्भव नभए फलाहार गर्ने तथा राति भजनकीर्तन र हरिनाम सङ्कीर्तनसहित जाग्राम बस्ने धार्मिक मान्यता छ। भोलिपल्ट द्वादशीका दिन विधिपूर्वक पूजा गरी पारण गरेर व्रत समापन गरिन्छ।
धार्मिक ग्रन्थ पद्मपुराणको उत्तरखण्डमा उल्लेख भएअनुसार प्रबोधिनी एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ र सय राजसूय यज्ञ गरेबराबरको फल प्राप्त हुन्छ। यस दिन श्रद्धापूर्वक स्नान, दान, जप, तप तथा पूजा आराधना गरे अक्षय पुण्य प्राप्त हुने र पाप नाश भई मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।
हरिबोधनी एकादशीसँग भगवान् विष्णुको चारमहिने योगनिद्राको प्रसङ्ग पनि जोडिएको छ। पौराणिक कथाअनुसार माता लक्ष्मीले भगवान् विष्णुलाई वर्षमा निश्चित समय विश्राम गर्न आग्रह गरेपछि उहाँले प्रत्येक वर्ष वर्षायामका चार महिना शयन गर्ने वचन दिनुभएको थियो। सोही मान्यताअनुसार हरिशयनी एकादशीमा भगवान् विष्णु शयन गर्ने र हरिबोधनी एकादशीमा जाग्ने परम्परा सुरु भएको धार्मिक विश्वास छ।
यस एकादशीसँग तुलसी र भगवान् विष्णुको सम्बन्ध जोडिएको अर्को पौराणिक कथा पनि प्रचलित छ। जालन्धर नामक असुरकी पत्नी वृन्दा पतिव्रता थिइन्। उनको पतिव्रताको प्रभावले जालन्धरलाई पराजित गर्न कठिन भएपछि भगवान् विष्णुले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत भङ्ग गराएको कथामा उल्लेख छ। त्यसपछि जालन्धरको वध भएको र वास्तविकता थाहा पाएपछि वृन्दाले भगवान् विष्णुलाई श्राप दिएको बताइन्छ।
वृन्दाको श्रापबाट भगवान् विष्णु शालिग्रामका रूपमा परिणत हुनुभएको र पछि वृन्दाको शरीर तुलसी तथा केश गण्डकी नदीका रूपमा रहने वरदान प्राप्त भएको पौराणिक मान्यता छ। त्यसैले तुलसीलाई हरिप्रिया भनिन्छ। कार्तिक शुक्ल एकादशीका दिन तुलसी र शालिग्रामको विवाह गराउँदा कन्यादान गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
हरिबोधनी एकादशीका अवसरमा देशका विभिन्न धार्मिक स्थलमा मेला तथा विशेष पूजाआजा आयोजना गरिन्छ। सुनसरीको बराहक्षेत्र र काठमाडौंको बूढानीलकण्ठमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ। त्यसैगरी काठमाडौं उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर—चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेषनारायणमा पनि विशेष मेला लाग्ने परम्परा छ।