काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपी केसीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले आईजीपीले यस्तो अभिव्यक्ति होसमा दिए कि बेहोसीमा भन्दै प्रश्नसमेत गरे ।
‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा हो बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु भन्ने ? केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा मजाकका पात्र हुन् ?,’ उनले भने ।
ओलीले आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गरेर आएको उल्लेख गर्दै प्रहरी प्रशासनबाट गैरजिम्मेवार अभिव्यक्ति आएको आरोप लगाए ।
‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौं, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौं, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । अनि ६ महिने जागिर खाने एउटा सिपाहीले फलानालाई थुनिदिन्छु भन्छ । ठट्टा मजाक गरेको हो ?,’ उनले प्रश्न गरे ।
उनले आफूहरूमाथि कुनै प्रमाण भए पक्राउ गरेर थुन्न चुनौतीसमेत दिए । प्रमाण भेटिए आफू मात्र नभई अन्य व्यक्तिहरू पनि कानुनी दायरामा आउनुपर्ने उनको भनाइ थियो ।
यसैगरी, गृहमन्त्री सुधन गुरुङले फाइल खोल्दै गरेको र सबैलाई थुन्ने अभिव्यक्ति दिएको भन्दै ओलीले त्यसको आशयमाथि प्रश्न उठाए ।
‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ, एकसेएक थुनिन्छ भन्नुभएको छ । कसलाई भनेको हो ? सबै थुनिन्छन् भने उहाँ र कोको बाँच्छन् त नेपालमा ?,’ ओलीले भने ।
यस्ता अभिव्यक्तिले देशमा आतंकको वातावरण सिर्जना गर्ने भन्दै उनले सरकार र प्रहरी प्रशासनलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे।