काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित तथा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै, रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति उनले आभार व्यक्त गरे ।
प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे पनि राजदूत दलेलासँग जानकारी लिएका थिए । त्यस अवसरमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायले तीव्र रूपमा तयारी गरिरहेको बताए ।
भेटमा नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।