काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट टाढिएका मतदातालाई पुनः पार्टीसँग जोड्ने, सङ्गठनलाई सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने उद्देश्यले आज (मङ्गलबार) देखि देशव्यापी रूपमा ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
सभापति गगनकुमार थापाको नेतृत्वमा एक महिनासम्म सञ्चालन हुने अभियानमा वडा तहदेखि केन्द्रसम्मका करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालन गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
अभियानमार्फत पार्टी सङ्गठनलाई थप सक्रिय र व्यवस्थित बनाउने, स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्ने तथा कांग्रेसका नीति, विचार र गतिविधिबारे आमनागरिकलाई जानकारी गराइने उनले बताए ।
अभियानका क्रममा आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटका लागि प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) प्रक्रिया अघि बढाउनुका साथै जिल्ला तथा प्रदेश तहका अधिवेशन र अन्य साङ्गठनिक गतिविधिलाई पनि प्राथमिकतामा राखिनेछ ।
महामन्त्री पौडेलका अनुसार कांग्रेस प्रतिपक्षमा रहे पनि राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न पार्टी तयार र प्रतिबद्ध रहेको सन्देश जनतामाझ पुर्याउनु अभियानको प्रमुख उद्देश्य हो ।
यसैगरी, विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदातासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका गुनासा तथा असन्तुष्टि सुन्ने र पार्टीप्रतिको विश्वास पुनः स्थापित गर्दै कांग्रेससँग जोड्ने लक्ष्यसमेत अभियानले लिएको छ ।