काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी नोभेम्बर २२ र २३ (मंसिर ६ र ७) गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।
भ्रमणका क्रममा नेपाल र भारतबीच लामो समयदेखि छलफल हुँदै आएका विभिन्न द्विपक्षीय विषयमा महत्वपूर्ण छलफल हुने अपेक्षा गरिएको छ। विशेषगरी नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि भारतीय हवाई क्षेत्र हुँदै थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयलाई नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
भ्रमणको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल नोभेम्बर २२ मा नयाँदिल्ली पुग्नेछ। प्रतिनिधिमण्डल नोभेम्बर २३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक द्विपक्षीय वार्ता हुने तयारी छ। भ्रमणको तयारीमा संलग्न एक अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले यसबारे समाचार सार्वजनिक गरेका छन्।
दुई प्रधानमन्त्रीबीचको भेटवार्तामा आर्थिक सहयोग प्याकेज, हवाई कनेक्टिभिटी विस्तार तथा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपालले अन्तर्राष्ट्रिय उडानलाई थप सहज बनाउँदै आफ्ना विमानस्थलको पूर्ण उपयोग सुनिश्चित गर्न भारतीय हवाई क्षेत्र हुँदै थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन लामो समयदेखि आग्रह गर्दै आएको छ। यस भ्रमणमा उक्त विषयमा ठोस प्रगति हुने नेपालको अपेक्षा छ।