काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
आगामी मंसिर २ र ३ गते आयोजना हुन लागेको राष्ट्रिय भेलाको तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
एमालेले सोमबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् ।
भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहनेछ । एमालेले यस भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक एकता सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।