काठमाडौं । लोकआस्थाको महापर्व छठअन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ‘सझिया अरख’ विधि सम्पन्न गरिएको छ। कार्तिक शुक्ल षष्ठीका दिन निराहार व्रत बसेका व्रतालुले आइतबार साँझ नदी, तलाउ, पोखरी तथा अन्य जलाशयमा बनाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका हुन्।
महोत्तरीसहित मिथिलाञ्चलका विभिन्न स्थानमा आकर्षक रूपमा सजाइएका छठ घाटमा व्रतालु तथा श्रद्धालुको उल्लेख्य उपस्थिति थियो। मिथिला र विद्यापति पञ्चाङ्गअनुसार आइतबार साँझ ५ः१० बजे सूर्यास्त हुने समय निर्धारण गरिएको थियो। सोही समयअनुसार सूर्यदेव र छठी माताको आराधना गर्दै मङ्गलगानका बीच पहिलो अर्घ्य अर्पण गरिएको हो।
मैथिल कर्मकाण्डका ज्ञाता तथा बर्दिबास नगरपालिका–२ का पण्डित दिनेशकुमार झाका अनुसार मिथिलामा छठलगायतका पर्वको विधि र अर्घ्य दिने समय मिथिला तथा विद्यापति पञ्चाङ्गका आधारमा निर्धारण गरिन्छ।
छठ पर्वमा व्रतालुले सूर्यास्त हुनुभन्दा एक घडीअघि नै जलाशयमा कम्मरसम्म डुब्ने गरी पानीमा उभिएर सूर्यदेवको आराधना गर्दै अर्घ्य दिने परम्परा छ। जटासहितको नरिवल, अविर र अरबा चामलको पिठो हातमा लिएर सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। त्यसपछि छठका लागि तयार पारिएका ठकुवा, भुसुवा, मिठाई, केरा तथा अन्य फलफूलले सूर्यदेवलाई अर्पण गरिन्छ।
कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन पञ्चमीमा ‘खरना’ विधि सम्पन्न गरेका थिए। खरनाका दिन सख्खर, दूध र अरबा चामलबाट तयार पारिएको खिर ग्रहण गरेपछि व्रतालुले निराहार व्रत सुरु गरेका हुन्। मिथिलामा पहिलो अर्घ्य दिने दिनलाई ‘सझियाघाट’ पनि भनिन्छ।
अब व्रतालुले सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ। पञ्चाङ्गअनुसार सोमबार बिहान ६ः२६ बजे सूर्योदय हुने उल्लेख छ। उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि व्रतालु सूर्योदय हुनुभन्दा एक घडीअघि नै जलाशयमा प्रवेश गरी सूर्यदेवको आराधना गर्ने परम्परा छ।
बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। पण्डित झाका अनुसार बिहानको अर्घ्यपछि व्रतालु घर फर्केर आशामुखी तथा दीनदुःखीलाई दान दिने र प्रसाद ग्रहण गर्ने गर्छन्।
छठ पर्व सम्पन्न भएपछि प्रसाद बाँड्ने र ग्रहण गर्ने क्रम सुरु हुन्छ। मिथिलामा छठको प्रसाद छोरीचेली, मित तथा इष्टमित्रका घरमा महिनौँसम्म पुर्याउने परम्परा छ। मिथिलावासीले सूर्यदेव र षष्ठी देवीलाई मनोकामना पूरा गर्ने आराध्य देवदेवीका रूपमा पूजाआजा गर्दै आएका छन्।