चन्दा क्षेत्री/काठमाडौं । जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर राजाले नेपालमा खेल्दाको सबैभन्दा अविस्मरणीय पक्ष नेपालीबाट पाएको माया र सम्मान भएको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेलिरहेका राजाले नेपालीको आत्मीयता र क्रिकेटप्रतिको लगावको प्रशंसा गर्दै नेपालमा बिताएको समय आफ्नो करिअरको विशेष सम्झना बन्ने बताएका हुन् ।
‘नेपाली जनताबाट पाएको माया र सम्मान नै मेरो सबैभन्दा ठूलो सम्झना हुनेछ,’ उनले पोस्टम्याच अन्तर्वार्तामा भने, ‘नेपालीहरू असाध्यै राम्रा मानिस हुनुहुन्छ । तपाईंहरूको माया र सम्मान अविश्वसनीय छ । कृपया यस्तै रहनुहोला, आफ्नो यो गुण कहिल्यै परिवर्तन नगर्नुहोला ।’
विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका राजाले नेपालबाट पाएको आत्मीयतालाई विशेष महत्त्व दिएका छन् । उनको यो अभिव्यक्तिले नेपाली समर्थकको क्रिकेटप्रतिको लगाव र विदेशी खेलाडीले यहाँ अनुभव गर्ने आतिथ्यलाई पनि उजागर गरेको छ ।
नेपालमा क्रिकेट खेल्नु आफ्नो व्यावसायिक करिअरको अर्को अनुभव मात्र नभई यहाँका खेलाडी र क्रिकेटसँग जोडिएका मानिससँग अनुभव साट्ने अवसर पनि भएको उनको भनाइबाट झल्किन्छ ।
राजाले नेपाली क्रिकेटको विकासका लागि भने खेलमैदानको पिच सुधार्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न ब्याटिङमैत्री र सन्तुलित पिच निर्माण गर्नुपर्ने उनको सुझाव छ ।
‘नेपालले विश्वका उत्कृष्ट क्रिकेट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने हो भने सबैभन्दा पहिले यहाँका पिचको स्तर सुधार्नुपर्छ,’ उनले भने, ‘राम्रो पिचमा खेल्दा ब्याटरको आत्मविश्वास बढ्छ भने बलरले पनि फरक परिस्थितिमा कसरी बलिङ गर्ने भन्ने सिक्छन् ।’
उनका अनुसार खेलाडीले १८० देखि २०० रनसम्मको लक्ष्य बनाउने र त्यस्तो लक्ष्य रक्षा गर्ने अभ्यास गर्न पाउनुपर्छ । यसले राष्ट्रिय टोलीको स्तर उकास्न मात्र नभई दर्शकका लागि पनि खेललाई थप मनोरञ्जनात्मक बनाउनेछ ।
राजाले एनपीएललाई नेपाली युवा खेलाडीको क्षमता पहिचान गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिएका छन् । चितवनको टोलीमा रहेका युवा खेलाडीले पाएको अवसर र उनीहरूको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उनले बताए ।
विशेषगरी युवा बलर कमल र विजयको प्रदर्शनको प्रशंसा गर्दै उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्न चाहने खेलाडीका लागि पनि एनपीएल उपयोगी अवसर भएको उल्लेख गरे । युवा खेलाडीलाई आफ्नो अनुभव बाँड्नु र उनीहरूलाई सही निर्णय लिन सहयोग गर्नु आफ्नो प्राथमिकतामध्ये एक रहेको उनको भनाइ छ ।
चितवनका युवा खेलाडी रञ्जितलाई विशेष प्रतिभाशाली बताउँदै राजाले सही प्रशिक्षण र मार्गदर्शन पाउन सके दुई वर्षभित्रै राष्ट्रिय टोलीमा स्थान बनाउन सक्ने क्षमता उनीसँग रहेको बताए ।
आफ्नो सफलताको रहस्यबारे सोधिएको प्रश्नमा भने राजाले क्रिकेटप्रतिको इमानदारी, निरन्तर मेहनत र तयारीलाई मुख्य आधार माने । करिअरमा सफलताभन्दा असफलता धेरै भए पनि प्रशिक्षण र मेहनतमा कहिल्यै सम्झौता नगरेको उनले बताए ।
एनपीएलको तेस्रो संस्करणका लागि चितवन राइनोजमा आबद्ध भएका ४० वर्षीय राजा जिम्बाब्वेका अनुभवी ब्याटर तथा अफ स्पिन बलर हुन् । अन्तर्राष्ट्रिय क्रिकेटसँगै आईपीएल, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगलगायत विभिन्न फ्रेन्चाइज प्रतियोगिताको अनुभव उनीसँग छ ।
एनपीएलको जारी तेस्रो संस्करणमा चितवनले पनि प्लेअफमा स्थान बनाएको छ । प्रतियोगिताको लिग चरणमा टोलीले गरेको प्रदर्शनमा राजाको अनुभव र नेतृत्व महत्त्वपूर्ण पक्ष बनेको छ ।