काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) हटाउने वा पदमा कायम राख्ने विषयमा सरकारलाई कुनै निर्देशन नदिएको जनाएको छ ।
रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आईजीपीसम्बन्धी निर्णय सरकारको विवेक र अधिकारको विषय भएको बताए । पार्टीले आईजीपी हटाउन वा यथावत् राख्न कुनै दबाब नदिएको उनको भनाइ छ ।
सरकारले दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेपछि सरकारको आलोचना हुँदै आएको छ । यस विषयमा पार्टीले कुनै निर्देशन नदिएको स्पष्ट पार्दै खरेलले भने, ‘आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले दिएको छैन । यो सरकारको विवेक र निर्णयको विषय हो ।’
आईजीपी नियुक्तिसम्बन्धी विषय अदालतसम्म पुगिसकेको र विभिन्न प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले यसबारे थप धारणा सरकारले नै सार्वजनिक गर्ने बताए । अदालतमा विचाराधीन विषय भएकाले पार्टीले यसबारे थप टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ थियो ।