एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी साता चीनमा संयुक्त भेटवार्ता हुने भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले तीनै नेताबीच चीनको दक्षिणी सहर सेन्जेनमा भेटवार्ता हुने जानकारी दिएको हो । उक्त सहरमा एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन आयोजना हुँदैछ ।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सका अनुसार भेटवार्तामा विश्वभर आणविक हतियारको सङ्ख्या घटाउने विषयमा छलफल हुनेछ । राष्ट्रपति ट्रम्पले आणविक हतियारको विस्तारलाई विश्व सुरक्षाका लागि गम्भीर खतरा मान्दै आएका छन् ।
भेटवार्तामा इरानको विषयले पनि प्राथमिकता पाउने अनुमान गरिएको छ । तर, रुस–युक्रेन युद्धका विषयमा भने छलफल हुने सम्भावना नरहेको बताइएको छ । प्रस्तावित भेटवार्ताबारे रुस र चीनले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार अमेरिकी एक वरिष्ठ अधिकारीले तीन नेताबीचको भेटवार्तापछि कुनै सम्झौता हुने अपेक्षा नरहेको बताएका छन् । ती अधिकारीले आफ्नो नाम सार्वजनिक गर्न चाहेका छैनन् ।
यसैबीच, राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार छुट्टै द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको छ । सन् २०२५ मा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति बनेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेटवार्ता हुनेछ ।