काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहेको दाबी गर्दै यसलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताएका छन्।
एमाले वाग्मती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारविरुद्धको राजनीतिक आन्दोलनलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि आवश्यकताअनुसार अन्य राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।
बस्नेतले सरकारविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन पार्टीको संगठनात्मक संरचना र स्थानीय कमिटीहरू सुदृढ गर्नुपर्ने बताए। साथै, सरकारका अलोकतान्त्रिक गतिविधिलाई प्रविधिको माध्यमबाट आम जनतामाझ पुर्याउन कार्यकर्तालाई निर्देशन दिए।
उनले वर्तमान सरकार र सत्तारूढ दलका नेताहरू सहकारी ठगीलगायत आपराधिक गतिविधिमा संलग्न रहेको आरोपसमेत लगाए। सरकारको आलोचना गर्दै उनले भने, ‘भ्रममा बाँचेको, देशलाई जलाएर आएको, खरानी ग्याङ भनेर युवाहरूले उपमा दिएको सहकारी ठगी लगायतका आपराधिक कर्ममा संलग्न रहेको पार्टी र त्यसका नेताहरू संलग्न रहेको वर्तमान सरकारको आयु धेरै लामो रहने छैन।’
बस्नेतले आन्दोलनसँगै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा पनि जुट्नुपर्ने बताए। आगामी निर्वाचनमा एमालेलाई पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने गरी संगठन परिचालन गर्नुपर्ने उनको भनाइ थियो।