गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ। पहिरोका कारण केही ढुंगा र माटो बूढीगण्डकी नदीमा खसे पनि नदी थुनिने अवस्था नरहेको स्थानीय प्रशासनले जनाएको छ।
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार फराकिलो पाखोमा पहिरो खसेकाले तत्काल ठूलो जोखिम देखिएको छैन। पहिरोबाट खसेका केही ढुंगा र माटो मात्रै नदीसम्म पुगेको उनले बताए।
गोरखा प्रहरीले दिएको जानकारीअनुसार शनिबार बिहान करिब ९ बजे एक्कासि पहिरो खसेको हो। पहिरोबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपि, पहिरो खस्दा उडेको धुलो सडकसम्म पुगेको बताइएको छ।
घटनालगत्तै प्रहरी टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गर्नुका साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पहिरो क्षेत्रको निगरानी गरिरहेको जनाएको छ।