काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण तथा सामाजिक र आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको जनाएको छ ।
एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप) को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए ।
उनले पछाडि पारिएका समुदायलाई विकास प्रक्रियामा सहभागी गराउनुका साथै विकासको प्रतिफलमा उनीहरूको समान पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।
शुक्रबार सम्पन्न अधिवेशनमा मल्लले राष्ट्रिय रोजगार नीति र राष्ट्रिय औद्योगिक नीतिको पुनरावलोकनलगायत नेपालले अघि बढाएका प्रमुख नीतिगत सुधारका प्रयासबारे जानकारी गराएको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ ।