ललितपुर । साहित्यकार तिलविक्रम नेम्वाङ (वैरागी काइँला) ले मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन परम्परागत शब्द निर्माणको पद्धतिलाई निरन्तरता दिँदै समय र आवश्यकताअनुसार नयाँ शब्द तथा अभिव्यक्ति विकास गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ विमोचन कार्यक्रममा बोल्दै उनले मुन्धुमलाई परम्परागत ज्ञानका रूपमा मात्रै सीमित नराखी समय र पुस्ताअनुसार परिमार्जन तथा विकास गर्दै लैजानुपर्ने बताएका हुन् ।
लिम्बू भाषामा नयाँ शब्द निर्माणको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले परम्परागत शब्दमा नयाँ प्रत्यय जोडेर हिन्दू देवी दुर्गाको सिंहवाहिनी स्वरूपलाई लिम्बू भाषाकै शब्द निर्माण पद्धतिबाट व्याख्या गरिएको उदाहरण प्रस्तुत गरे । यस्ता अभ्यासले भाषाको अभिव्यक्ति क्षमता विस्तार गर्नुका साथै मुन्धुमलाई नयाँ आयाम दिने उनको भनाइ थियो ।
उनले शब्दकोश निर्माणले मात्रै भाषाको विकास सम्भव नहुने भन्दै नयाँ सन्दर्भ र आवश्यकताअनुसार शब्द निर्माण तथा प्रयोग गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए । विशेषगरी कोशी प्रदेशमा लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने तयारी भइरहेका बेला प्रशासनिक, प्राविधिक र शैक्षिक शब्दावली निर्माण आवश्यक रहेको उनले बताए ।
बहुमत, अल्पमत, प्रस्ताव पारित हुने वा नहुनेजस्ता संसदीय प्रक्रियाका शब्ददेखि विद्यालयमा शिक्षकलाई सम्बोधन गर्ने शब्दसम्म लिम्बू भाषामै विकास गर्नुपर्ने उनको भनाइ थियो । यसका लागि याक्थुङ चुम्लुङलगायत भाषिक तथा सांस्कृतिक संस्थाले नेतृत्व लिनुपर्ने उनले बताए ।
भाषा र सिर्जनाको विकासक्रममा कमजोरी तथा अपूर्णता रहनु स्वाभाविक भएको उल्लेख गर्दै काइँलाले मुन्धुममा वर्णित मानव सिर्जनाको प्रसंगसमेत सुनाए । तागेरा निङ्वाभुमाङले कहिल्यै नमर्ने मानिस बनाउन खोज्दा सफल नभएपछि मरणशील मानिसको सिर्जना गरेको प्रसंग उल्लेख गर्दै उनले कमजोरीलाई स्वाभाविक रूपमा स्वीकारेर सिर्जनात्मक कामलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले लिम्बू भाषा र मुन्धुमको समृद्धिका लागि नयाँ शब्दको सिर्जना, प्रयोग र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।