काठमाडौँ । मुलुकमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण तराईका विभिन्न स्थान, उपत्यका तथा खोँचमा हुस्सु र कुहिरो लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईमा मौसम सफा रहने महाशाखाले जनाएको छ । रातिको समयमा हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।