टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किएको अन्ताल्या पुगेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेट गरेका हुन् ।
भेटका क्रममा मन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताका लागि धन्यवाद व्यक्त गरे ।
उनले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनले जनजीवन, जीविकोपार्जन र हिमाली पारिस्थितिक प्रणालीमा पारेको असमानुपातिक प्रभावबारे फिनल्यान्डका मन्त्रीलाई जानकारी गराएका थिए ।
भेटमा दुवै मन्त्रीबीच कोप–३१ को प्रक्रिया तथा आपसी चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै, नेपाल र फिनल्यान्डबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप विस्तार तथा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
सो अवसरमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि र जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा समेत छलफल भएको थियो ।