काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ ।
संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक बिहान साढे ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्न लागेको हो ।
आजको बैठकमा सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए ।
प्रस्तावित न्यायाधीशविरुद्ध पाँचवटा संयुक्त र आठवटा व्यक्तिगत गरी कुल १३ वटा उजुरी परेका छन् ।
गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
सहसचिव गौतमका अनुसार आजको बैठकमा प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिनेछ ।