कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवाको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो ।
नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ गरी कुल २६१ जनालाई लालपुर्जा प्रदान गरिएको छ ।
लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपत्र नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन् ।
लालपुर्जा प्राप्त गरेकी ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा आएर आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन् । वर्षौंदेखि बसोबास र भोगचलन गर्दै आएको जग्गाको पुर्जा पाउने आफ्नो चाहना पूरा भएको उनको भनाइ छ ।
त्यस्तै, वडा नं ९ का स्थानीय छेदी अहिरले पाँच पुस्तादेखि भोगचलन हुँदै आएको जग्गाको लालपुर्जा बल्ल प्राप्त भएको बताए । पुर्जा नहुँदा जग्गाको स्वामित्वबारे अन्योल रहँदै आएको उल्लेख गर्दै उनले लालपुर्जा प्राप्त भएपछि परिवारमा खुसी छाएको बताए ।
नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । लालपुर्जा प्राप्तिसँगै स्थानीयवासीको जग्गामाथिको कानुनी स्वामित्व सुनिश्चित हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सहजता आउने उनको भनाइ छ ।
नगरपालिकाभित्र रहेका बाँकी गाउँब्लक जग्गाधनीलाई पनि क्रमशः लालपुर्जा उपलब्ध गराउने प्रक्रिया निरन्तर अघि बढाइने शाहले बताए । बाँकी जग्गाको दर्ता प्रक्रिया छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गरिने उनले जानकारी दिए ।
यस्तै, कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि पनि प्रक्रिया अघि बढाइने नगर प्रमुख शाहले बताए । यससम्बन्धी अध्यादेश आइसकेको र आयोग गठन भएपछि लालपुर्जा वितरणको काम अगाडि बढ्ने उनले जानकारी दिए ।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले गाउँब्लक जग्गाको नापजाँच तथा दर्ता प्रक्रिया पूरा गरेर प्रमाणपुर्जा वितरण गरिएको बताए । विसं २०७० मा नापी गरिएको जग्गाको लालपुर्जा वितरण गर्न सफल भएको उल्लेख गर्दै उनले प्रमाणपुर्जामा जग्गाधनीको नाम, कित्ता नम्बर र क्षेत्रफललगायत विवरण ध्यानपूर्वक जाँच गर्न आग्रह गरे ।
प्रमाणपुर्जामा कुनै विवरण त्रुटिपूर्ण भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरेर सच्याउन सकिने पनि उनले बताए ।
कार्यक्रममा नगर उपप्रमुख आरती चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद देवकोटा, वडा नं ९ का वडाध्यक्ष शतिस हरिजन, नापी टोलीका कर्मचारी, स्थानीय जनप्रतिनिधि तथा जग्गाधनीहरूको सहभागिता थियो ।