काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।