काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले) भित्र असन्तुष्ट भएर बसेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर आफ्नो पार्टीको एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
मंगलबार काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच आयोजित एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले एमाले व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै त्यहाँ उकुसमुकुस भएर बसेका नेता–कार्यकर्तालाई एकतामा आउन आग्रह गरेका हुन्।
उनले एमालेका असन्तुष्टहरू मात्र नभई विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई समेत एकतामा सहभागी हुन आह्वान गरे। मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकलाई समाजवाद निर्माणका लागि एकताबद्ध हुन उनले आग्रह गरे।
‘एमालेमा विभिन्न हिसाबले उकुसमुकुसका साथ बसिरहेकालाई विद्रोह गरेर आउन भन्ने कि सिंगै पार्टी लिएर आउन भन्ने,’ नेपालले भने, ‘नेत्रविक्रमजीलाई समेत म एकतामा आउनका लागि आह्वान गर्न चाहन्छु।’
विगतमा नेत्रविक्रम चन्दसहितका नेताहरूसँग समाजवादी मोर्चा बनाएर देशव्यापी अभियान सञ्चालन गरेको स्मरण गर्दै उनले उक्त अभियानमार्फत हजारौँ कार्यकर्ता आन्दोलनमा जोडिएको बताए। उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत सहकार्यका लागि आह्वान गरे।
राष्ट्रियता, संविधान, गणतन्त्र, समावेशिता र जनअधिकारको रक्षाका लागि विभिन्न राजनीतिक शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको नेपालको भनाइ छ।
उनले विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनप्रति निराशा बढिरहेको र अमेरिकाको हस्तक्षेपकारी नीतिका कारण विभिन्न देशमा चुनौती थपिएको बताए। नेपाललाई पनि अमेरिकाले आफ्नो रणनीतिक स्वार्थ पूरा गर्ने स्थानका रूपमा हेरेको उनको टिप्पणी थियो।
कम्युनिस्ट आन्दोलनप्रति निराशा बढिरहेका बेला नेपाली कम्युनिस्ट पार्टीको एकताले नयाँ आशा जगाएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वार्थ र राजनीतिक उपलब्धिको रक्षाका लागि कम्युनिस्ट तथा अन्य राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए।