काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।
उनका अनुसार बैठकले सडक सुधारका लागि सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गर्नेदेखि विभिन्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय :
1. सडक सुधारका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने २८ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र २ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।
2. नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा नेपाल सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने।
3. नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने गरी मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने।
4. टर्कीमा २०८३ कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।
5. मोही लागेको जग्गाको जग्गाधनी र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिक मसान्तसम्म र जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुंग्याउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति दिने।
6. प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायतका केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।