पोखरा । पोखराका नौवटै ताललाई साइकल ट्रेल तथा सडक सञ्जालमार्फत जोड्ने गरी पोखरा महानगरपालिकाले १ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजना अघि बढाउने भएको छ। पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित महानगरले यो आयोजना अघि सारेको हो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार वडा नम्बर ६ स्थित फेवाताल क्षेत्रबाट सुरु हुने ट्रेलले पोखराका नौवटै ताललाई जोड्नेछ। साइकल लेनसहित निर्माण हुने ट्रेल सम्पन्न भएपछि पर्यटकले साइकल तथा अन्य सवारीसाधनमार्फत सबै तालसम्म सहजै पुग्न सक्नेछन्।
आयोजनाले पर्यटकलाई फेवातालमा मात्रै सीमित नराखी अन्य ताल तथा पर्यटकीय गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने महानगरको अपेक्षा छ। यसबाट ओझेलमा परेका ताल तथा आसपासका पर्यटकीय क्षेत्रको गतिविधि बढ्नुका साथै पोखरा आउने पर्यटकको बसाइ कम्तीमा दुई दिन लम्ब्याउन सकिने आचार्यले बताए।
प्राकृतिक सम्पदा, संस्कृति र साहसिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्यसहित आयोजना अघि बढाइएको उल्लेख गर्दै आचार्यले पोखरालाई पर्यटनको राजधानीका रूपमा विकास गर्न महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताए। उनका अनुसार आफू महानगर प्रमुखमा निर्वाचित भएपछि ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास आयोजना अघि बढिरहेका छन्।
‘पोखरा नेचर, कल्चर र एडभेन्चरको सहर हो। यही विशेषताका कारण पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हौँ,’ आचार्यले भने, ‘पोखराका नौवटै ताललाई साइकल ट्रेल र सडक सञ्जालमार्फत जोड्ने यो योजना दिगो पर्यटन विकासका लागि कोसेढुंगा साबित हुनेछ।’
आचार्यले निर्वाचनका बेला पोखराका सबै ताललाई साइकल तथा अन्य सवारीसाधनमार्फत जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यकालको अन्तिम चरणमा उक्त प्रतिबद्धताअनुसारको आयोजना अघि बढ्न लागेकोमा उनले खुसी व्यक्त गरे।
आयोजना सम्पन्न भएपछि पर्यटकको बसाइ अवधि बढ्नुका साथै ताल आसपासका क्षेत्रमा आर्थिक गतिविधि विस्तार हुने महानगरको विश्वास छ। यसबाट स्थानीय व्यवसाय, रोजगारी र पर्यटनमा आधारित उद्यमले समेत नयाँ अवसर पाउने अपेक्षा गरिएको छ।