काठमाडौं। नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धबारे भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले वाग्लेको धारणाबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक दृष्टिकोण सार्वजनिक गर्न माग गरेका छन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा पोखरेलले अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई कमजोर बनाउने अभिव्यक्ति दिएको आरोप लगाए। केही दिनअघि भारतमा आयोजित एक सार्वजनिक टेलिभिजन कार्यक्रममा वाग्लेले ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेका थिए।
उक्त अभिव्यक्तिलाई आत्मसमर्पणवादी चिन्तनको संज्ञा दिँदै पोखरेलले आर्थिक विकासका नाममा नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध भारतको सहमतिमा चलाउने सोच रास्वपाको हो कि होइन भन्ने प्रश्न गरे।
“के रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा अब भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?” उनले प्रश्न गरे।
पोखरेलले आर्थिक विकासका नाममा नेपालको सार्वभौमिकता सीमित गर्न खोजिएको हो कि भन्दै सरकार र रास्वपाको दृष्टिकोण स्पष्ट पार्न माग गरे। उनले नेपाललाई भुटानजस्तै बनाउन खोजिएको र क्रमशः सिक्किमीकरणतर्फ लैजान खोजिएको आशंकासमेत व्यक्त गरे।
उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले समेत भारतको सीमा मिचेको अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै अर्थमन्त्री वाग्लेको पछिल्लो भनाइलाई त्यसैको निरन्तरताका रूपमा व्याख्या गरे।
पोखरेलले नेपालको मुख्य समस्या भारतसँगको सम्बन्धभन्दा पनि राष्ट्रियताको विषयमा नेपाली राजनीतिक दल र नागरिकबीच देखिएको मतभेद भएको बताए। सरकारले राष्ट्रियताका विषयमा नागरिकबीच विभाजन ल्याउन खोजिरहेको आरोपसमेत उनले लगाए।