म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीस अहिले कृषि उद्यमीका रूपमा परिचित हुन थालेका छन्। अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्यसमेत रहेका श्रीस अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन्।
दुई दशकभन्दा बढी समय राजनीतिमा बिताएका श्रीसले जन्मथलो फर्किएर आफ्नै श्रम र लगानीमा कृषि उद्यम सुरु गरेका हुन्। उनले श्रीस कृषि तथा पशुपन्छी फार्म स्थापना गरी कृषिलाई स्वरोजगार र आम्दानीको मुख्य आधार बनाएका छन्।
श्रीसका अनुसार कृषि उद्यम पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने प्रभावकारी माध्यम हो। कृषि उत्पादनमार्फत आर्थिक तथा सामाजिक रूपान्तरणसँगै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ।
‘नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,’ उनले भने, ‘पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ।’
उनले छ वर्षअघि दुईवटा बाख्रा र एक लाख रुपैयाँ लगानीबाट व्यावसायिक बाख्रापालन सुरु गरेका थिए। अहिले उनको फार्ममा ३० वटा बाख्रा छन्। फार्मबाट वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री हुने गरेका छन्। उनले खरी र जमुनापारी जातका बाख्रा पालन गर्दै आएका छन्।
व्यवसायको सुरुआती चरणमा उनले विभिन्न चुनौती सामना गर्नुपरेको थियो। ताराखोलाबाट खरिद गरेर ल्याएका बाख्रा स्थानीय हावापानीमा अनुकूल हुन नसक्दा क्षतिसमेत बेहोर्नुपरेको थियो। तर, उनले व्यवसाय छाडेनन्। निरन्तर प्रयासपछि अहिले फार्मलाई व्यवस्थित बनाएका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोरसमेत निर्माण गरेका छन्।
बाख्रापालनसँगै श्रीसले सुन्तला खेतीलाई पनि विस्तार गरेका छन्। परम्परागत रूपमा खाद्यान्न खेती गरिँदै आएको खेतबारीमा उनले ३५० वटा सुन्तलाका बोट लगाएका छन्। ती बोटले उत्पादन दिन थालेका छन्। खाली जमिनमा बाख्राका लागि आवश्यक घाँससमेत लगाएकाले पशुपालनलाई थप सहज भएको छ।
उनले मौरीपालनलाई पनि व्यवसायको अर्को आधार बनाएका छन्। अहिले फार्ममा १६ वटा मौरीका घार छन्। सिँचाइका लागि निर्माण गरिएको पोखरीमा माछापालनसमेत सुरु गरेका छन्। मौरीपालन व्यवसाय विस्तार गर्न मङ्गला गाउँपालिकाले तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान उपलब्ध गराएको छ।
श्रीसको कृषि उद्यमले व्यक्तिगत आम्दानी बढाउन मात्रै नभई गाउँका अन्य किसानलाई पनि व्यावसायिक खेतीतर्फ आकर्षित गरेको छ। उनको अगुवाइमा नमुना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा संलग्न भएका छन्।
बरंजाका किसानले बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालन गर्दै आएका छन्। स्थानीय किसानले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री हुने गरेको छ। उत्पादनका लागि आवश्यक स्रोत र बजारको सम्भावना स्थानीयस्तरमै रहेकाले कृषि उद्यमबाट राम्रो आम्दानी गर्न सकिने श्रीसको भनाइ छ।
सुन्तला खेती विस्तार तथा बगैँचा व्यवस्थापनमा पनि उनले सरकारी निकायबाट सहयोग पाएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन्।
मध्यमवर्गीय परिवारमा जन्मिएका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोजेका हुन्। केही समय खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गरेका उनले अहिले कृषि र पशुपालनलाई प्राथमिकता दिएका छन्। बिहान र बेलुका बाख्राको स्याहार तथा सुन्तलाका बोटको हेरचाहमा उनको समय बित्ने गरेको छ। फुर्सदको समय पनि उनी फार्ममै बिताउँछन्। यस कार्यमा परिवारका सदस्यले पनि साथ दिएका छन्।
श्रीसको राजनीतिक यात्रा भने विद्यार्थी जीवनदेखि नै सुरु भएको थियो। उनी तत्कालीन नेकपा (माओवादी) मा आबद्ध हुँदै २०५८ सालदेखि भूमिगत राजनीतिमा सक्रिय भएका थिए। तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा उनी राजनीतिक गतिविधिमा संलग्न रहे।
२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बनेका श्रीसले २०६४ देखि २०७० सालसम्म पहिलो संविधानसभामा प्रतिनिधित्व गरेका थिए। संविधानसभा सदस्यको कार्यकाल पूरा भएपछि उनी जन्मथलो बरंजा फर्किएर कृषि उद्यममा संलग्न भएका हुन्।
कृषि उद्यममा सक्रिय रहे पनि श्रीसले राजनीतिक गतिविधिलाई भने निरन्तरता दिएका छन्। उनी हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन्। राजनीति र कृषि उद्यमलाई सँगसँगै अघि बढाउने उनको योजना छ।
श्रीसको अनुभवमा कृषि उद्यमले उत्पादन बढाउनुका साथै गाउँमै रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। पहाडी क्षेत्रमा उपलब्ध जमिन, अनुकूल हावापानी र स्थानीय स्रोतसाधनको सदुपयोग गर्न सके किसानले आफ्नै गाउँमा बसेर आम्दानी गर्न सक्ने उनको विश्वास छ।