बाँके । वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल बढ्न थालेको छ । मनसुन सकिएपछि निकुञ्जका कच्ची सडक तथा बाटो मर्मत गरी पर्यटकका लागि सफारी खुला गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए ।
नेपालकै सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्जका रूपमा परिचित बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ । यहाँ पाइने दुर्लभ तथा संरक्षित वन्यजन्तु चौसिङ्गा अर्थात् चारवटा सिङ भएको मृग पर्यटकको मुख्य आकर्षण हो । चौसिङ्गासँगै पाटेबाघ, हात्ती, गैँडा, चितुवा तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिने भएकाले निकुञ्ज वन्यजन्तु र प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
पर्यटकलाई आकर्षित गर्न निकुञ्ज र स्थानीय पर्यटन व्यवसायीले विशेष छुटसहित एक हजार रुपैयाँको नयाँ प्याकेजसमेत सार्वजनिक गरेका छन् । कम खर्चमा जङ्गल सफारी र वन्यजन्तु अवलोकनको अनुभव लिन सकिने यस प्याकेजले विशेषगरी मध्यमवर्गीय तथा युवा पर्यटकलाई आकर्षित गर्न थालेको चौधरीले बताए ।
‘वर्षात्पछि जङ्गलको रूप नै फेरिएको छ । चारैतिर हरियाली र ताजा हावा छ,’ उनले भने, ‘जङ्गल सफारी पुनः सुरु भएसँगै पर्यटकको आगमन बढ्न थालेको छ । हामी उहाँहरूलाई स्थानीय परिकार र संस्कृतिमार्फत स्वागत गर्न आतुर छौँ ।’
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी वलीले पनि पश्चिम नेपालमा सुलभ मूल्यमा साहसिक तथा प्राकृतिक यात्रा गर्न चाहने पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज र गाभर भ्याली उत्कृष्ट गन्तव्य बनेको बताए ।
‘सहरी कोलाहलबाट टाढा रहेर प्रकृति र स्थानीय संस्कृतिको नजिक पुग्न चाहनेका लागि यो मौसम उपयुक्त छ,’ उनले भने, ‘वर्षायाममा जङ्गलको हरियाली र ओसिलो वातावरणले आकर्षित गर्छ भने हिउँदमा खुला मौसममा वन्यजन्तुको गतिविधि नियाल्दै सफारीको फरक अनुभव लिन सकिन्छ ।’
जीपमा बसेर जङ्गलका घुमाउरा बाटो पार गर्दै वन्यजन्तुको खोजी गर्नु, चराचुरुङ्गीको आवाज सुन्नु, प्राकृतिक वनस्पतिको अवलोकन गर्नु र जङ्गलको विशालता महसुस गर्नु सफारीका विशेष आकर्षण रहेको वलीले बताए ।
पछिल्ला वर्षमा बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०८२/८३ मा निकुञ्जमा एक हजार ४६६ पर्यटक पुगेका थिए । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या ६२० थियो भने आर्थिक वर्ष २०८०/८१ मा ४४४ पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।
निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै गएपछि पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग समन्वय गरेर विशेष योजनासहित अघि बढिरहेको निकुञ्जका प्रमुख वार्डेन वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।