बागमती । मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मकवानपुरको हटिया, चौघडा र कमाने क्षेत्रका किसानलाई पाकेको धान काट्ने र भित्र्याउने चटारो परेको छ । काटिसकेको धान सुरक्षित रूपमा थन्क्याउन किसान हतारिएका छन् भने खेतमै रहेको धान वर्षाले बिग्रने हो कि भन्ने चिन्ता बढेको छ ।
हेटौँडा उपमहानगरपालिका–१०, हटिया फाँटका फणिराज अधिकारीको खेतमा धान पाकिसकेको छ । तर, मौसम बिग्रने सम्भावनाका कारण उनी धान काट्ने कि केही समय पर्खने भन्ने अन्योलमा छन् ।
“खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ कि नकाटौँ”, १२ कठ्ठा क्षेत्रफलमा धानखेती गरेका अधिकारीले भने, “धान काट्ने कि नकटाउने भन्ने अन्योलले छटपटी भएको छ ।”
बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमान गरिएको छ । उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न क्षेत्रमा मौसम प्रतिकूल बन्न सक्ने पूर्वानुमान छ ।
मौसम पूर्वानुमानअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने तथा छिटपुट वर्षा हुन सक्ने सम्भावना छ । हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ । बिहीबारदेखि मौसम प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने र शुक्रबार तथा शनिबार अझ बढ्न सक्ने विभागले जनाएको छ ।
सम्भावित मौसमबाट धानबालीमा क्षति पुग्न सक्ने भन्दै राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई मंगलबारसम्मै धान काटेर भित्र्याउन आग्रह गरेको छ । केन्द्रले मौसमको अवस्था हेरेर कृषि कार्य गर्न तथा मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार खेतीपातीका काम अघि बढाउन सुझाव दिएको छ ।
पछिल्ला वर्षमा मौसम पूर्वानुमानलाई ध्यान दिएर कृषि कार्य गर्ने किसानको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । यसअघि गरिएका पूर्वानुमान मिल्दै आएका कारण मौसमको अवस्थालाई ख्याल गरेर मात्रै काम गर्नुपर्ने अवस्था रहेको स्थानीय किसान हरि अधिकारीले बताए ।
हटिया फाँटमा केही वर्षअघिसम्म ठूलो क्षेत्रफलमा धानखेती हुने गरेको ८० वर्षीय श्रीप्रसाद न्यौपानेले बताए । उनका अनुसार पछिल्लो समय बस्ती विस्तारसँगै खेतीयोग्य जमिन घरघडेरीमा परिणत हुँदै गएको छ ।
“पहिले यो क्षेत्रको अधिकांश जमिनमा धानखेती हुन्थ्यो”, उनले भने, “केही वर्षयता विशेषगरी सडक आसपासका क्षेत्रमा घरहरू बढेका छन् । वर्षैपिच्छे खेतीयोग्य जमिन बस्तीमा परिणत भइरहेको छ ।”
यस क्षेत्रमा बहुबाली खेती प्रणाली प्रचलनमा छ । धान भित्र्याएपछि तोरी वा आलु र त्यसपछि मकै लगाउने गरिएकाले वर्षभरि नै जमिनमा कुनै न कुनै बाली रहने गरेको न्यौपानेले बताए ।
यद्यपि, पछिल्लो समय स्थानीय युवा रोजगारीका लागि विदेश जाने क्रम बढेसँगै कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन थालेको उनको अनुभव छ । धान भित्र्याउने काममा सहयोग गर्न तराईका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी मजदुर हटिया क्षेत्रमा आएका छन् ।
मौसम प्रतिकूल हुने पूर्वानुमानले धान काटिसकेका किसानलाई बाली सुरक्षित रूपमा भित्र्याउन हतारो भएको छ । तर, खेतमै धान पाकेर बसेका किसान भने वर्षाको सम्भावनाले चिन्तित छन् । मौसमको अनिश्चितताका बीच पाकेको धान समयमै भित्र्याउने र सम्भावित क्षति न्यूनीकरण गर्ने चुनौती किसानसामु देखिएको छ ।