सुनसरी ।बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा यस वर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ। यो कारोबार गत वर्षको तुलनामा करिब १५ प्रतिशत बढी हो।
कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि खसीबोका ल्याउने क्रम बढेको र दसैँमा मासुको माग उच्च हुने भएकाले कारोबार बढेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए।
गत वर्षको दसैँमा उक्त बजारबाट २३ करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको थियो। दसैँमा मासुको खपत बढ्ने भएकाले धरानमा खसीबोकाको कारोबार हरेक वर्ष बढ्ने गरेको भट्टराईले बताए।
धरानको कृषिउपज बजारमा धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर र तेह्रथुमलगायत पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारीसहित तराईका विभिन्न स्थानबाट किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गर्छन्। बजारमा विशेषगरी बिहीबार र शुक्रबार खसीबोकाको किनबेच हुने गरेको छ।
यहाँ खरिदबिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने बजार व्यवस्थापन समितिले जनाएको छ। कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको यस बजारले पहाडी क्षेत्रका किसानलाई बिक्रीको अवसर उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्याउँदै आएको भट्टराईले बताए।