काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार दोस्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा वामपन्थी नेता ८० वर्षीय लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी सिनेटर ४५ वर्षीय फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा हुँदैछ ।
लुला चौथो पटक राष्ट्रपति बन्ने प्रयासमा छन् भने फ्लाभियो पहिलो पटक राष्ट्रपति बन्ने दौडमा छन् । यसअघि अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा फ्लाभियोले अग्रता हासिल गरेका थिए । तर, राष्ट्रपतिमा निर्वाचित हुन उनले दोस्रो चरणमा पनि मतदाताको समर्थन जुटाउनुपर्नेछ ।
फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा हुन् । सन् २०२२ को निर्वाचनमा पराजित भएपछि सत्ता कब्जाको षड्यन्त्र गरेको अभियोगमा जैरलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो । स्वास्थ्य समस्याका कारण उनी हाल घरमै नजरबन्दमा रहेर सजाय भोगिरहेका छन् ।
पहिलो चरणको मतदानमा फ्लाभियोले अग्रता हासिल गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई ‘निकै ठूलो’ जितको संज्ञा दिएका थिए । ब्राजिलको निर्वाचन इतिहासमा पहिलो चरणमा पछि परेका उम्मेदवारले दोस्रो चरणमा मतान्तर उल्ट्याएर जित हासिल गरेको उदाहरण नरहेको बताइएको छ ।
फ्लाभियोका समर्थकहरू अन्तिम चुनावी सभाहरूमा उत्साहित देखिएका छन् । संगठित अपराधविरुद्ध कडा कारबाही गर्ने, कर घटाउने र सरकारी खर्च कटौती गर्ने उनको प्रतिबद्धताले देशमा परिवर्तन ल्याउने समर्थकहरूको विश्वास छ ।
निर्वाचनको पूर्वसन्ध्यामा फ्लाभियोले मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेमा चुनावी अभियान सञ्चालन गरेका थिए । सन् १९८० को दशकदेखि नै उक्त राज्य राष्ट्रपतीय निर्वाचनका उम्मेदवारका लागि महत्त्वपूर्ण मानिँदै आएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमार्फत फ्लाभियोले समर्थकहरूलाई सम्बोधन गर्दै भनेका छन्, “समय अब नजिक आइसकेको छ । हाम्रो राष्ट्रको आगामी ३० वा ४० वर्षको भविष्य निर्धारण गर्न अब केही घण्टा मात्रै बाँकी छन् ।”
उनले आफ्ना पिता जैरलाई जेलमुक्त गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
रियो दि जेनेरियोको बार्रा दा तिजुका क्षेत्रमा पनि फ्लाभियोका समर्थकहरूले राष्ट्रिय झन्डाका रङका पोसाक लगाएर चुनावी समर्थन प्रदर्शन गरेका थिए । उक्त क्षेत्रमा उनका पिता जैरको घर रहेको छ ।
“ब्राजिललाई परिवर्तन चाहिएको छ । लामो समयदेखि वामपन्थीहरूले अर्थतन्त्र र देशलाई बिगारेपछि अहिले फ्लाभियोले परिवर्तनको प्रतिनिधित्व गर्छन्,” एक समर्थकले बीबीसीसँग भने ।
अर्की समर्थकका अनुसार ब्राजिलमा हिंसा अन्त्य गर्ने, आतंकवाद तथा लागुऔषध तस्करी नियन्त्रण गर्ने र ब्याजदर घटाउने फ्लाभियोका प्रतिबद्धता उनका मुख्य आकर्षण हुन् ।
दोस्रो चरणको निर्वाचनबाट आउने परिणामले ब्राजिलको आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ । साथै, अपराध नियन्त्रण, कर प्रणाली, सरकारी खर्च र आर्थिक नीतिका विषयमा देशले कस्तो प्राथमिकता अपनाउने भन्ने पनि निर्वाचनको नतिजाले तय गर्नेछ ।