काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा युनेस्को विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् ।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेगा साइकल र्याली आयोजना गरेको हो । ‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित र्यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकल यात्री तथा अन्य व्यक्तिको सहभागिता थियो ।
भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरस्थित पाटन दरबार स्क्वायर पुगेर सम्पन्न भएको थियो । र्यालीले काठमाडौँ उपत्यकाका सातवटा विश्व सम्पदा स्थललाई समेटेको थियो ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
र्यालीको उद्घाटन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाललगायत विभिन्न रोटरी क्लबका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रम रोटरी क्लब अफ आरसी भक्तपुरले आयोजना गरेको हो ।
क्लबका अध्यक्ष दशरथ प्रजापतिले पोलियो उन्मूलन र जनस्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न नियमित खोप र जनचेतना महत्त्वपूर्ण रहेको बताए । बालबालिकाको स्वास्थ्य सुरक्षा परिवारको मात्र नभई समग्र समाजको जिम्मेवारी भएको उल्लेख गर्दै उनले पोलियोजस्तो रोगबाट बच्न नियमित खोप आवश्यक रहेको बताए ।
उनले यस्ता अभियानले स्वास्थ्यसम्बन्धी सन्देश समुदायसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिने धारणा राखे ।
त्यसैगरी, डिस्ट्रिक्ट गभर्नर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताए । रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल धकालले पनि पोलियोविरुद्धको अभियानलाई प्रभावकारी बनाउन समाजका सबै पुस्ताको सहभागिता आवश्यक रहेको उल्लेख गरिन् ।
हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो रोगको विश्वव्यापी उन्मूलनका लागि भइरहेका प्रयासलाई थप प्रभावकारी बनाउने उद्देश्य राख्छ । यस दिवसका अवसरमा नियमित खोपको महत्त्व, पोलियो रोगबारे जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षामा विशेष जोड दिइन्छ ।