हेटौँडा – लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्दै गएपछि देउराली–सिस्नेरी सडकखण्डमा आज अपराह्न ४ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार आज अपराह्न ४ बजेदेखि सोमबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा दुवैतर्फका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।
जलाशयको सतह निरन्तर बढिरहेको र रातिको समयमा आकस्मिक अवस्था उत्पन्न भई बाँधबाट पानी निकास गर्नुपर्ने सम्भावनालाई ध्यानमा राखेर पूर्वसावधानीस्वरूप सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार सवारी सञ्चालन भइरहेका बेला चेतावनीको साइरन बज्दा चालक तथा यात्रुमा त्रास सिर्जना हुनसक्ने र आकस्मिक रूपमा पानी निकास गर्नुपरे सडकखण्डका केही स्थान जोखिममा पर्नसक्ने भएकाले समयमै आवागमन रोक्ने निर्णय गरिएको हो।
प्रशासनका अनुसार भैंसे हुँदै देउराली–सिस्नेरी जाने तथा काठमाडौँको फर्पिङ हुँदै सिस्नेरी–देउराली–हेटौँडा आउने सवारी साधनसमेत उक्त अवधिमा सञ्चालन गर्न पाइने छैनन्।
अत्यावश्यक रूपमा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुलाई त्रिभुवन राजपथ प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। त्रिभुवन राजपथमा समेत जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको समयतालिकाअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले हाल कुलेखानी बाँधको ढोका नखोलिएको स्पष्ट पार्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्वसावधानी अपनाइएको बताए। जलाशय तथा तल्लो तटीय क्षेत्रको अवस्थाको निरन्तर निगरानी भइरहेको प्रशासनले जनाएको छ।