म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौर्गर्भिक समाजमा आबद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका विभिन्न पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो।
समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा गएको टोलीले बेनी नगरपालिकाका २२ र रघुगङ्गा गाउँपालिकाका चार स्थानमा पहिरोको अवस्था अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए। शनिबार र आइतबार स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा छ जना भूगर्भविद्ले तीन समूह बनाएर अध्ययन गरेका थिए।
टोलीले बेनी नगरपालिकाको भसभसे, खबरा, लभ्लीहिल, हाडेभिर, तल्लो मुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तातोपानी, आगेबगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर र तोरीपानीलगायतका पहिरोको अध्ययन गरेको हो। रघुगङ्गा गाउँपालिकाका हरखर्क, बरखर्क, माझखर्क र कल्लेनीका पहिरोको समेत अध्ययन गरिएको छ।
अध्ययनका क्रममा पहिरोको अवस्था र माटोको बनोटको यथार्थ मूल्याङ्कन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो प्रभावित क्षेत्रबाट ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरिएको भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. चम्पकबाबु सिलवालले बताए।
टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिका पहिरो क्षेत्रको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो।
न्युरोडवासीलाई विशेष सावधानी अपनाउन आग्रह
अध्ययन टोलीका संयोजक भास्कर खतिवडाले बेनी बजारको न्युरोड क्षेत्रमा पछिल्लो समय खसेको पहिरो अझै सक्रिय हुनसक्ने भन्दै स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। पहिरोमाथिको जमिनमा थप धाँजा फाटेकाले जुनसुकै बेला जमिन बग्न सक्ने जोखिम रहेको उनले बताए।
उनका अनुसार पहिरोको नियमित अनुगमन र आकारको मापन गरी अभिलेख राख्न, भूमिगत पानीका स्रोतको सुरक्षित व्यवस्थापन गर्न तथा धाँजा फाटेको जमिनमा पानी पस्न नदिन तत्कालीन उपाय अपनाउन आवश्यक छ।
दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि आवश्यक संरचना तथा अन्य उपायसहितको विस्तृत प्रतिवेदन तयार पारेर उपलब्ध गराइने उनले बताए।
अध्ययन टोलीका अनुसार असोज ८ देखि ११ गतेसम्म लगातार परेको भीषण वर्षाका कारण भिरालो पाखाको जमिन गलेको, सडकको भल उचित व्यवस्थापन हुन नसकेको, अव्यवस्थित विकास निर्माण र भूमिगत पानीको उचित व्यवस्थापन नहुनुलगायत कारणले पहिरोको जोखिम बढेको हो।
बाढीपहिरोमा म्याग्दीमा सात जनाको मृत्यु
गत साताको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी म्याग्दीमा सात जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट २०० भन्दा बढी घरगोठमा क्षति पुगेको छ भने दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार हालसम्म १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा आंशिक क्षति पुगेको छ। त्यस्तै, ३४२ घर जोखिममा रहेका छन्। क्षतिको विवरण अझै बढ्न सक्ने प्रशासनले जनाएको छ।
बाढीपहिरोका कारण जिल्लाका मुख्य सडक, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुँदा म्याग्दीको जनजीवन अझै प्रभावित रहेको छ।
–रासस