काठमाडौं । देशका अधिकांश भूभागमा पश्चिमी वायु तथा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिमका सबै भूभाग तथा गण्डकी र लुम्बिनीको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। लुम्बिनीको तराई क्षेत्रमा पनि आंशिक बदली देखिएको छ भने अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशीका केही स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्र तथा देशका तराई भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्नेछ भने ती प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
यस्तै, मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा सामान्यतया बदली रहनेछ। कर्णालीको पहाडी क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। मधेश, कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।