काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा बीमितको पहिचान सुनिश्चित हुनुका साथै दोहोरो आबद्धता नियन्त्रण, केवाईसी विवरण अद्यावधिक र दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।
त्यस्तै, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । उक्त कार्यदलले ६० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनेछ ।
बोर्ड सचिवालयका अनुसार ईएमआर प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डका आधारमा दाबी मान्यता दिने निर्णयसमेत भएको छ । पहिलो चरणमा २ हजार १८९ वटा Customized ICD-11 Code लाई IMIS मा प्रयोगमा ल्याइनेछ ।