काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षण गर्नुभएको छ।
मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार निरीक्षणका क्रममा उहाँले निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनअन्तर्गतका दुईवटा ‘मल्टिसर्किट टावर’को अवस्थाबारे जानकारी लिनुभएको थियो।
मन्त्री श्रेष्ठले देशको ऊर्जा क्षेत्रको मेरुदण्डका रूपमा रहेको उक्त प्रसारण लाइन तथा टावर निर्माणको काम निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
करिब १२ वर्षअघि निर्माण सुरु भएको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन विभिन्न कारणले लामो समयदेखि अवरुद्ध हुँदै आएको छ। पछिल्लो समय निर्माण कार्यलाई गति दिने प्रयास भइरहेको छ।