काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्वका लागि आकांक्षीहरूको सक्रियता बढेको छ। विशेषगरी युवा पुस्ताको सहभागिता र प्रतिनिधित्वलाई लिएर महाधिवेशनको माहोल थप तातेको छ। यही परिवेशमा चिकित्सा पेशादेखि सामाजिक सेवा, विद्यार्थी राजनीति, सञ्चार र खेलकुद व्यवस्थापनसम्म विभिन्न क्षेत्रमा सक्रिय डा. सन्तोष उपाध्याय युवा महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका छन्।
अछामबाट सुरु भएको उनको सार्वजनिक यात्रा भने चिकित्सा पेशामै सीमित रहेन। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमबीबीएस गरेका उपाध्यायले अमेरिकाको Harvard Medical School बाट ‘Leadership in Medicine’ सम्बन्धी अध्ययन गरेका छन्। चिकित्सकीय ज्ञानलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयासमा उनी स्वास्थ्य तथा मानवीय सेवासँग सम्बन्धित विभिन्न अभियानमा सहभागी हुँदै आएका छन्।
स्वास्थ्य क्षेत्रमा उनको संलग्नता उपचार सेवाभन्दा बाहिर पनि देखिन्छ। अछाम जिल्ला अस्पतालमा नवजात शिशुको जन्डिस उपचारका लागि फोटोथेरापी मेसिन सहयोगदेखि कोभिड महामारीका बेला अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराउने अभियानमा उनी जोडिएका थिए। देशका विभिन्न स्थानमा आयोजित ५० भन्दा बढी स्वास्थ्य शिविरमा सहभागिता जनाएको उनको भनाइ छ।
शिक्षा, वातावरण र विपद् व्यवस्थापनका क्षेत्रमा पनि उनले काम गरेका छन्। अछामका विद्यालयमा पुस्तकालय स्थापना तथा सहयोग, २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकमा पुनर्निर्माणमा सहभागिता तथा जाजरकोट भूकम्पपछि राहत, स्वास्थ्य शिविर र सरसफाइ अभियानमा संलग्नता उनका सामाजिक गतिविधिका केही उदाहरण हुन्। ‘Plant Your Books’ अभियानमार्फत १५ हजारभन्दा बढी वृक्षारोपण गरिएको पनि उनले उल्लेख गरेका छन्।
विद्यार्थी राजनीतिबाट संगठनसम्म
सामाजिक गतिविधिसँगै उपाध्यायको राजनीतिक यात्रा विद्यार्थी जीवनबाट अघि बढेको हो। नेपाली कांग्रेस तथा नेपाल विद्यार्थी संघसँग करिब १७ वर्षदेखि जोडिएको बताउने उनी नेविसंघको केन्द्रीय समिति हुँदै विभिन्न संगठनात्मक जिम्मेवारीमा पुगेका छन्।
IOM को नेतृत्व, कार्यकारी समिति, उपाध्यक्ष तथा अध्यक्षको जिम्मेवारीसँगै प्रचार–प्रसार समितिको संयोजन र महाधिवेशनका क्षेत्रीय प्रतिनिधिका रूपमा समेत काम गरेको अनुभव उनीसँग छ। १४औँ र १५औँ महाधिवेशनसँग जोडिएको संगठनात्मक अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पाटोका रूपमा लिएका छन्।
सञ्चारदेखि खेलकुद व्यवस्थापनसम्म
उपाध्यायको सार्वजनिक पहिचान राजनीतिमा मात्र सीमित छैन। सञ्चार क्षेत्रमा समेत सक्रिय उनी Kantipur TV र ‘Good Morning Nepal’ मा प्रस्तोताका रूपमा काम गरिसकेका छन्। युवा तथा विद्यार्थी लक्षित संवाद, करियर काउन्सेलिङ र मोटिभेसनल स्पिकिङमा पनि उनको संलग्नता छ। विभिन्न ३० भन्दा बढी कलेजमा युवासँग प्रत्यक्ष संवाद गरेको उनको अनुभव छ।
खेलकुद व्यवस्थापनतर्फ नेपाल भलिबल लिग (NVL) का CEO तथा Co-owner का रूपमा उनको भूमिका छ। नेपाल टेलिकमका Brand Promoter तथा Biratnagar Kings का Strategic Ambassador का रूपमा समेत उनले काम गरेका छन्।
अन्तर्राष्ट्रिय अनुभव
चिकित्सा र सामाजिक क्षेत्रसँगै उपाध्यायले अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि जिम्मेवारी सम्हालेका छन्। सन् २०१८ मा नेपालमा आयोजित East Asian Medical Students Conference का Organizing Chairperson रहेका उनले करिब ४०० प्रतिनिधि सहभागी सम्मेलनको नेतृत्व गरेका थिए।
Asia Pacific Medical Students Training मा Organizing Chairperson, International Federation of Medical Students’ Associations (IFMSA) मा Program Coordinator, AMSA International मा WHO Liaison Officer तथा AMSA Alumni Club मा Humanitarian Officerका रूपमा पनि उनले काम गरेका छन्। नेपाल मेडिकल एसोसिएसनको Junior Doctors Committee मा Spokesperson तथा Presidentको जिम्मेवारीसमेत सम्हालेका उपाध्याय विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम र संस्थामार्फत करिब ४० देशसँग जोडिएको अनुभव रहेको बताउँछन्।
चिकित्सकको पेशागत पहिचानबाट सुरु भएको उपाध्यायको सार्वजनिक यात्रा विद्यार्थी संगठन, सामाजिक सेवा, सञ्चार, खेलकुद व्यवस्थापन र अन्तर्राष्ट्रिय गतिविधिसम्म फैलिएको छ। अब यही अनुभवलाई राजनीतिक भूमिकासँग जोड्दै उनी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा महाधिवेशन प्रतिनिधिका रूपमा प्रतिस्पर्धामा छन्।
महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व र संगठनात्मक दिशाबारे बहस अघि बढाइरहेका बेला उपाध्यायको उम्मेदवारी पनि पेशागत तथा युवा पृष्ठभूमिबाट आएका प्रतिनिधिहरूको सहभागिताका रूपमा हेरिएको छ।

