काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार शौकत मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका थिए।
प्रहरीका अनुसार गएराति विमानस्थलमा शौकत अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखिएपछि शंका लागेर जाँच गरिएको थियो। सो क्रममा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा ४२२ दशमलव ५ ग्राम सुनजस्तो देखिने पदार्थ फेला परेको हो।
पक्राउ परेका शौकतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रवक्ता सिलवालले जानकारी दिए।