पर्वत । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन्। शनिबार रातिदेखि बस्तीमा बाढी पस्न थालेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ सरेका प्रहरीले जनाएको छ।
बाढीका कारण अन्य घरसमेत जोखिममा परेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। टोलीले जोखिममा रहेका स्थानीयवासीसँगै घरका जिन्सी सामानसमेत सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
बाढीबाट मानवीय क्षति भए–नभएकोबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन। घटनास्थलमा विद्युत् तथा फोन सम्पर्कमा समेत समस्या रहेकाले क्षतिको विस्तृत विवरण संकलनमा कठिनाइ भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।