सुर्खेत । लगातारको वर्षासँगै पहिरो खस्दा कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडकमा पहिरो तथा लेदो खसेपछि यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै, सल्यानको कपुरकोट गाउँपालिका–१ खारखोला तथा वडा नं. ३ र ४ अन्तर्गत अरिङ्गालेमा पहिरो खस्दा राप्ती राजमार्ग अवरुद्ध भएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–१ राँकामा पहिरो खसेपछि कर्णाली राजमार्गअन्तर्गतको जुम्ला–नाग्मा सडकखण्ड समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कर्णाली करिडोरका सडक पनि प्रभावित
हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरोसँगै लेदो सडकमा थुप्रिएपछि कर्णाली करिडोर अवरुद्ध भएको छ। वर्षाका कारण सडकमा माटो र लेदो थुप्रिँदा यातायात सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ अन्तर्गतको पिना–ताल्चा सडकखण्डमा पनि पहिरो खसेपछि नाग्मा–गमगढी सडक अवरुद्ध भएको छ। उक्त सडकखण्डसमेत कर्णाली करिडोरअन्तर्गत पर्छ।
जाजरकोटका विभिन्न सडकखण्डमा पनि लगातारको वर्षाका कारण यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।
वर्षा निरन्तर भइरहेकाले पहाडी क्षेत्रमा पहिरो खस्ने, लेदो बग्ने र सडक कटान हुने क्रम बढेको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार अवरुद्ध सडकको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ।