राँझा (बाँके)— लगातारको वर्षासँगै शनिबार आएको हुरीले बाँकेका विभिन्न स्थानमा पाक्न लागेको धानबालीमा क्षति पुर्याएको छ।
नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार हुरीका कारण अधिकांश खेतमा धान ढलेको छ। हुरीले धान ढलेपछि उत्पादनमा समेत असर पर्ने किसानहरूले बताएका छन्।
त्यस्तै, डुडुवा गाउँपालिका–५ का किसान सुजन थापाको खेतमा लगाइएको धान पनि हुरीका कारण ढलेको छ।
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जिल्लामा धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइनसकेको बताउनुभयो। उहाँका अनुसार बाँकेमा यस वर्ष करिब ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ।
क्षतिको विवरण संकलनपछि हुरीका कारण धान उत्पादनमा परेको प्रभावबारे यकिन हुने केन्द्रले जनाएको छ।