काठमाडौँ — संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आर्मेनिया र संयुक्त अरब इमिरेट्स (यूएई) का विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
परराष्ट्रमन्त्री खनालले आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानसँग भएको भेटमा नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्। भेटमा आपसी हित र चासोका विषयमा पनि विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै मन्त्रीबीच जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चमा साझा चासोका विषयमा सहकार्य गर्नेबारे छलफल भएको थियो।
यसैगरी, मन्त्री खनालले यूएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग पनि भेटवार्ता गरेका छन्। भेटका क्रममा खनालले नेपालप्रति सद्भाव व्यक्त गर्दै यूएईले २५ मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा कृतज्ञता व्यक्त गरेका थिए।
दुवै पक्षबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चमा सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।