पोखरा । अविरल वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुल बगाएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने उक्त पुल गएराति नदीको बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए ।
उनका अनुसार पुल बगाएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ टोली पठाइएको छ । ‘पुल बगाएको भन्ने खबर आएको छ । हामी त्यहाँ जाँदैछौँ,’ उनले भने ।
उक्त पुल कालीगण्डकी जलविद्युत् आयोजनाको नजिकै रहेको बताइएको छ । पुल बगेसँगै त्यस क्षेत्रको आवतजावत प्रभावित भएको छ ।
घटनाबाट भएको अन्य क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।