काठमाडौं– नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा दिएको छ।
असोज १६ गते हुने महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेस सहमहामन्त्री उदयशमशेर राणा सम्बन्धित नेताहरूको निवासमै पुगेर उद्घाटन समारोहको निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन्।
कांग्रेसले उद्घाटन समारोहमा विदेशी कूटनीतिक नियोगका प्रतिनिधि तथा मित्रराष्ट्रका प्रमुख राजनीतिक दलका प्रतिनिधिलाई समेत सहभागी गराउने तयारी गरेको छ।
महाधिवेशनको मिति नजिकिँदै गएसँगै कांग्रेसले उद्घाटन समारोहसहितका कार्यक्रमको तयारीलाई तीव्र बनाएको जनाएको छ।